शुक्रगण्डकी, तनहुँ | ज्ञान बगैंचा इङ्लिस बोर्डिङ स्कूलले स्कूल अफ ननभाइलेन्स इन्क. अन्तर्गत २७ औं सद्भावना दूत दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न गरेको छ। कार्यक्रममा ज्ञान बगैंचा आवासीय माविमा अध्ययन गर्ने ४७ जना विद्यार्थीहरूलाई सामाजिक–भावनात्मक शिक्षाको कार्यक्रम (SEEP 2024) अन्तर्गत दिक्षीत गरिएको छ।
“मबाट तपाईं, तपाईंबाट हामी” भन्ने भावनात्मक विषयवस्तुमा आधारित सीप कार्यक्रमले आत्म–चेतना, आत्म–नियन्त्रण, आत्म–प्रेरणा, सोचको विकास, लक्ष्य निर्धारण, समानुभूति, समानुभूतिपूर्ण सुनुवाइ, अहिंसात्मक संवाद, सार्वजनिक प्रस्तुति, नेतृत्व, द्वन्द्व रुपान्तरण, मानसिक स्वास्थ्य र भावनात्मक सन्तुलन जस्ता जीवन–दक्षताहरूमा विद्यार्थीहरूलाई सक्षम बनाएको छ। कार्यक्रममा विद्यार्थीहरूले आफ्नो अनुभवहरू प्रभावकारी ढंगले प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै एक विद्यार्थीले भने, “SEEP अघि म रिसले भरिएको थिएँ, अब म प्रतिक्रिया दिनुअघि सोच्न थालेको छु।” अर्का विद्यार्थीले भने, “समानुभूतिपूर्ण संवादले मलाई असल साथी र असल छोराको रूपमा विकास गर्यो।” दीक्षान्त समारोहमा SEEP को सिकाइ यात्रा समेटिएको भिडियो समेत प्रस्तुत गरिएको थियो ।भिडियोमा कक्षाको झलक, अन्तरक्रिया, आत्म–परीक्षण, र कार्यशालाहरू समेत देखाइएको थियो। त्यसपछि ग्यालरी वाक (Gallery Walk) मार्फत विद्यार्थीहरूले आफ्नो सृजनात्मक कार्य, व्यक्तिगत विकास डायरी, भिजन बोर्ड र समूहगत परियोजनाहरू सार्वजनिक रूपमा प्रदर्शन गरे। अभिभावकहरूले विद्यालयप्रतिको कृतज्ञता व्यक्त गर्दै भने, “हामीले आफ्ना छोराछोरीमा ठूला सकारात्मक परिवर्तनहरू देख्यौं। हामी भाग्यमानी छौं कि यस्तो शिक्षण पद्धति अपनाउने विद्यालयमा बच्चाहरू अध्ययन गरिरहेका छन्।”
कार्यक्रमकी सह–सञ्चालिका सगुन थापाले आफ्नो अनुभवलाई यसरी वर्णन गरिन्—“SEEP एउटा उत्साह र प्रेरणाले भरिएको यात्रा हो—जहाँ आशा र करुणा, हाँसो र सम्बन्धको सुन्दर संगम पाइन्छ।” कार्यक्रमको अन्त्यमा ४७ जना विद्यार्थीहरूलाई सद्भावना दूत (Goodwill Ambassadors) को रूपमा औपचारिक रूपमा सम्मान गरियो, उनीहरुले अब आफ्ना समुदायहरूमा अहिंसा, समानुभूति, र नेतृत्वको सन्देश फैलाउने प्रण गरेका छन।