
नेविसंघ कावासोतीले शिक्षकका माग यथाशिघ्र सम्बोधन गरि विद्यालय फर्कने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ।
वैशाख १० गते जारी गरिएको प्रेस विज्ञप्तिमा सभापति कुमार क्षेत्रीले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास घटाउने नियतले वर्तमान परिस्थितिको लम्बाइ प्रति चिन्ता व्यक्त गरेका छन्। उनले भने, "आजको शिक्षकका मागहरू केवल शिक्षकहरूको मात्र होइन, भोलि हामी पनि शिक्षक बन्ने सपना देखेका लाखौं विद्यार्थीहरूको पनि माग हो।"
प्रेस विज्ञप्तिमा भनिएको छ, "नेपाल विद्यार्थी संघ शैक्षिक आन्दोलन, सामाजिक र साँस्कृतिक विकासका लागि आफ्नो स्थापना कालदेखि नै अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।
यसै सन्दर्भमा, विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको काठमाडौं केन्द्रित सडक आन्दोलन आज २२ औं दिनमा प्रवेश गरेको छ। यस अवस्थामा, अभिभावकहरू विद्यालय खोल्नका लागि आन्दोलन गर्दै छन् भने, निजी विद्यालयलाई फाइदा पुर्याउने उद्देश्यले सम्पूर्ण शिक्षकहरूलाई काठमाडौंमा आन्दोलन गर्न बाध्य बनाउनु, कक्षा १२ को परीक्षा स्थगित गरेर विद्यार्थीको भविष्य अनिश्चित पार्नु, र मानसिक तनाव सिर्जना गर्नु स्वीकार्य छैन। नेपाल विद्यार्थी संघ कावासोतीले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउने वातावरण सिर्जना गर्ने उद्देश्यले निरन्तर आन्दोलन गरेको भन्दै, अहिलेको अवस्थाले अभिभावकको विश्वास घटाउने काम गरेकोमा चिन्ता व्यक्त गरेको छ।
शिक्षक बिना कुनै राष्ट्र निर्माण असम्भव भएको र आजको शिक्षकका मागहरू भविष्यका लाखौं विद्यार्थीहरूको माग भएको भन्दै संघले नेपाल सरकारसँग शिक्षकहरूको जायज माग यथाशिघ्र सम्बोधन गर्न र विद्यालय फर्कने वातावरण सिर्जना गर्न जोडदार माग गरेको छ।"