चितवन ,चैत्र १० । सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिपको उपाधी नवलपुरको क्लब सेन्ट्रल कलेज अट्ठाइस विगाहा युवा क्लबले जितेको छ।आज भएको फाइनल खेलमा आबु खैरेनी युवा क्लबलाई २-० ले हराउदै अट्ठाइस विगाहले उपाधि कब्जा गरेको हो।
२८ बिगाहाको जितमा सृजन क्षेत्री र लक्षु थापाले १-१ गोल गरे । २८ बिगाहाले खेलको ५३ औँ मिनेटमा सृजनको गोलमा अग्रता लिएको थियो भने अतिरिक्त समयमा लक्षुले थप एक गोल गरेका थिए। एक गोल र एसिस्ट गरेका सृजन म्यान अफ दी म्याच भए ।२८ बिगाहाका रन्जित चौधरी उत्कृष्ट डिफेन्डर तथा सोही क्लबका गोलकिपर वीरेन्द्र सारुमगर उत्कृष्ट गोलकिपर घोषित भए।
विजेता २८ बिगाहाले तीन लाख तीन हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेता आबुखैरेनीले एक लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । आँबुखैरेनीका आकाश थापा प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा चितवन ११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टोली सहभागी भएका थिए ।