कावासोती । कावासोतीमा शनिवार सेन्ट जोसेफसँग इन्द्रेणी कार्यक्रमको आयोजना हुँदैछ । नवलपुरको कावासोतीमा रहेको कावासोती सेन्ट जोसेफ बोर्डिङ स्कुलले आफ्नो २८ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विभिन्न कार्यक्रम अन्तर्गत अन्तिम दिन सो कार्यक्रम हुने भएको हो । बुधबार कावासोतीमा पत्रकार सम्मेलनको आयोजना गरेर सेन्ट जोसेफ आरम्भ कार्यक्रमको बारेमा जानकारी गराईएको थियो । पत्रकार सम्मेलनमा स्कुलका प्रिन्सिपल कमल प्रसाद चापागाँईले २०७६ सालको बैशाख ३ गतेबाट स्कुल नयाँ टिमले, नयाँ व्यवस्थापन सहित सञ्चालनमा ल्याएको भएपनि , कोभिडका कारण स्कुलले सोचे अनुसारका कृयाकलाप गर्न नसकेको कारण अहिले सेन्ट जोसेफ आरम्भ कार्यक्रम सुरवात गरेको जानकारी गराउनु भयो । नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको स्कुलले विद्यार्थीहरूलाई अध्ययन मात्रै नभई कला संस्कृति र बाहिरी ज्ञान समेत दिनुपर्छ भन्ने उद्देश्यले विभिन्न सामाजिक काममा समेत विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको चापागाँईले बताउनुभयो । सोही अन्तरगत अहिले ‘सेन्ट जोसेफ आरम्भ कार्यक्रम’ रहेको उहाँले बताउनुभयो । उहाँले बिहीबार बाल प्रतिभा कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । यस कार्यक्रम अन्तरगत विद्यालयका सबै विद्यार्थीहरूबाट उनीहरूको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउने बताउनुभयो । विद्यार्थीहरूले नृत्य, गायन, कथा, कविता, नाटक, प्रोजेक्ट, लगायतका प्रस्तुती रहने उहाँले बताउनुभयो । सोही दिन पुरस्कार वितरण गरिने छ । अभिभावकका अगाडि प्रस्फुटन हुने विद्यार्थीहरूका प्रतिभाले अभिभावकमा आफ्ना बालबालिकाहरू के कस्ता काममा अब्बल छन् भन्ने बारेमा जानकारी हुने उहाँले बताउनुभयो । यस्तै अर्को कार्यक्रम चैत ११ गते अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता आयोजना गरिएको छ । जिल्लाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरूको सहभागिता रहने छ । यस कार्यक्रम अन्तरगत सेन्ट जोसेफका विद्यार्थीहरूबाट नेपाली मौलिक लोक संस्कृति झल्कने सतार नृत्य, हुडक्यौली नृत्य, राउटे नृत्य, छलिया नृत्य प्रस्तुत हुने जनाईएको छ । नेपालमा बिरलै देख्न पाइने र लोप हुने अवस्थामा पुगेका यस्ता मौलिक लोक नृत्यको जगेर्ना गर्न यस कार्यक्रमले टेवा पु¥याउने विद्यालयका प्रिन्सिपलले पत्रकार सम्मेलनमा बताउनुभयो । अन्तिम दिन चैत १२ गते सेन्ट जोसेफसँग इन्द्रेणी कार्यक्रम जसको आयोजकका रुपमा कक्षा नौ का विद्यार्थीहरू रहनेछन् । विद्यार्थीहरूको नेतृत्व विकासमा सहयोग पु¥याउन आयोजकका रुपमा कक्षा नौ लाई जिम्मेवारी प्रदान गरिएको प्रिन्सिपलको भनाई छ । यस्तै कक्षा आठका विद्यार्थीहरूको व्यवस्थापनमा खानाका परिकारको प्रदर्शनी समेत गर्नेछन् । विद्यार्थीहरूलाई सीप सँगै आयआर्जन गरि उक्त आम्दानी सामाजिक काममा लगाउने उद्देश्यले यस कार्यक्रमबाट सहयोग पुग्ने उहाँले बताउनुभयो । आरम्भ कार्यक्रम अन्तरगत यसअघि नै चैत ५ गते स्कुलले गाउँखाने कथा प्रतियोगिता सम्पन्न गरिसकेको छ । जिल्लामा रहेका विभिन्न पालिकाबाट संघसंस्था र समूहको सहभागितामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । जसमा प्रथम हुनेले १५ हजार, द्वितीय हुनेले १० हजार, तृतीय हुनेले ५ हजार र सान्त्वना हुने तीन वटा समूहलाई तीन तीन हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । १२ गते नै उक्त पुरस्कार वितरण गरिने बताईएको छ । ।
सेन्ट जोसेफ आरम्भ कार्यक्रम सुरु हुँदै,शनिवार इन्द्रेणी टिम आउने