लोकप्रिय मत प्राप्त गरी गोरखाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा विजयी भएपछि मैले नेपाली कांग्रेसको आसन्न चौधौँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिने घोषणा गरेँ । मंसीर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुन लागेको पार्र्टीको १४ औँ महाधिवेशनमा मैले खुलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेको हुँ । त्यसका लागि मसित गोरखा क्षेत्र नं १ बाट लगातार तीनपटकसम्म महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएको पृष्ठभूमि छ । यो पृष्ठभूमि मेरो पृष्ठपोषण हो, आफ्नो ठाउँमा गरेको सेवाको प्रतिफल हो । आफ्नो ठाउँबाट प्राप्त गरेको जनविश्वासबाट प्रेरित भएर मैले २०७२ सालमा सम्पन्न पार्र्टीको १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरेको थिएँ । त्यतिबेला मैले ‘विकासका लागि राजनीति’ भन्ने नारा अघि सारेको थिएँ । त्यसबखत कुनै पनि टिममा नपर्दा पनि चारसय भन्दा धेरै मत प्राप्त गरेको थिएँ । त्यसलाई विजय, पराजय दोस्रो कुरो, पहिलो प्रयास र कुनै पनि गुट उपगुटमा नलागी स्वयंको मिहिनेतको प्रतिफलको रुपमा बुझेको छु । त्यसपछि वि.सं. २०७४ साल मंसीरमा सम्पन्न प्रदेश सभा निर्वाचमा गोरखा क्षेत्र नं १ को ‘ख’ प्रदेशमा पनि पराजित चुनाव लडेको हुँ । त्यतिबेला एमाले र माओवादी एक भएर भिडेकाले जीत हाँसिल गर्न कठिन हुनु अस्वभाविक भएन । त्यतिबेला पनि मैले ‘विकासका लागि राजनीति’ भन्ने नारालाई जोडदार रुपमा अघि बढाएको हो । छ बर्षको यो अवधिमा यो नारा अब मेरो नारा मात्र होइन, प्रण बनेको छ । विद्यमान पार्टीहरुमध्य सबैभन्दा ज्येष्ठ पार्टी नेपाली कांग्रेसको सदस्य हुनु स्वयंमा गर्वको कुरा हो । अझै त्यसको केन्द्रीय कार्यसमितिमा रहेर राजनीति गर्न सकेँ भने विदेशिएका देशका तरुण शक्तिलाई स्वदेशमा रहेर व्यवसाय गर्ने वातावरण बनाउने लक्ष्य मेरो हो । नेपालीको पसिना र श्रमशक्तिलाई स्वदेशमा नै खर्चेर मुलुकको संवृद्धि भित्र्याउने उद्देश्यले म केन्द्रीय राजनीतिमा प्रवेश गर्ने हरप्रयास गर्दैछु । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं १ (साविक मसेल गाविस ९) मा सानै उमेरदेखि नेपाली कांग्रेसको विद्यार्र्थी संगठन नेविसंघमा आवद्ध भएँ । दुल्लभ माध्यमिक विद्यालयमा पढ्दादेखि विद्यार्थी तहदेखि नै नेविसंघको राजनीतिमा होमिएँ । एसएलसीसम्मको अध्ययन पूरा गरी काठमाडौँ आएपछि रत्नराज्य लक्ष्मी क्याम्पसमा नेविसंघको राजनीति गरेको थिएँ । त्यतिबेला आरआर क्याम्पसको नेविसंघको इकाई सदस्य थिएँ । फूपाजु नन्दलाल बोहोराको प्रेरणाबाट कांग्रेस र प्रजातन्त्र रक्षाका लागि लागेको थिएँ । उहाँ नेपाली कांग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको अंगरक्षक एवम् कांग्रेस गोरखाको संस्थापक सभापति समेत हुनुहुन्थ्यो । विस २०४६ सालको आन्दोलनमा विद्यार्र्थीको अग्र मोर्चामा रहेर आन्दोलनको नेतृत्व गरेको थिएँ । नेपाल विद्यार्थी संघ गोरखा (काठमाडौँ सम्पर्क समितिका उपाध्यक्षको भूमिकामा रहेर पनि काम गरेको थिएँ । विद्यार्थी राजनीति हुँदो विस २०४८ सालदेखि पार्र्टीको क्रियाशिल सदस्यता लिई राजनीतिमा अविराम सक्रिय छु । पछिल्लो समय होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम विषय अध्ययन गरी पर्यटन व्यवसायतिर समय खर्चेँ । गोर्खा इन्काउण्टर ट्रेकिङ कम्पनी स्थापना गरेँ । कम्पनीमा दर्जनौँ गोरखाली दाजुभाइ, दिदीबहिनीलाई रोजगारी दिएँ । विभिन्न ‘स्टार होटल’ तथा क्यासिनो व्यवसाय सञ्चालनमा रहँदा पनि अनगिन्ति दाजुभाइ, दिदीबहिनीलाई रोजगारी दिन पाउँदा खुशी छ । विगत २७ वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध रही व्यवसाय गर्दा टूेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)को महासचिव रहेर काम गर्ने अवसर पाएँ । नेपालको पर्यटनमार्फत विदेशी लगानी भित्र्याएर देशको विकासमा लाग्ने अवसर पाएँ । टानको महासचिव हुँदा सगरमाथा आधार शिविरमा मन्त्रिपरिषद्को ऐतिहासिक बैठक आयोजना गर्न सफल भएँ । व्यवसायको दौरानमा पनि राजनीति र समाजसेवाको क्षेत्रबाट कत्तिपनि पर रहिन । अर्थात श्रम र पसिना पोखेर आर्जन गरेको थोरबहुत धन, दौलतले विशेष गरी मेरो गोरखाली दाजुभाइ, दिदीबहिनी र आवश्यक पर्दा नेपालकै विभिन्न खालका दुखमा परेकालाई साथ र सहयोग गर्न कत्तिपनि पछि परिन । जलवायु परिवर्तनको प्रभावबाट नेपालको हिमाल संरक्षणका लागि विश्व समुदायको ध्यान आकृष्ट पार्ने उदेश्यले कालापत्थरदेखि कोपेनहेगनसम्मको अभियानअन्तर्गत विस २०६६ मंसीर १९ गते शुक्रबार सगरमाथा आधार शिविर कालापत्थरमा मन्त्रीपरिषद्को ऐतिहासिक बैठक राखेर सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बिर्सनु हुदैन । यिनै अनुभव र तागतलाई समेटर नेपाली राजनीतिको केन्द्रभागमा प्रवेश गर्ने मेरो जमर्को हो । केन्द्रमा रहेर राजनीति गर्न मसित आफ्नो माटोको साथ छ, गृहजिल्ला र जन्मस्थलका नेता कार्यकर्ताले दिएको आत्मबल छ । दशकौँदेखि पार्टीको केन्द्रमा रहेर लामो अनुभव संगाल्नु भएका आदरणीय नेताहरुको साथ र सहयोग छ । केन्द्रमा रहेर राजनीति गर्नका लागि मसित विकासका लागि राजनीति भन्ने नारा र त्यसका लागि गरेको प्रण छ । विकासका लागि राजनीति कसरी गर्न सकिन्छ भन्ने प्रष्ट भिजन मसित छ । बाँकी कदम पनि यही क्षेत्रमा अघि बढाउनेछु । गोरखा (हाल काठमाडौँ)
‘विकासका लागि राजनीति’ नारा होइन, प्रण हो : राजेन्द्र बजगाइ