भैरहवा । रोट्रयाक्ट क्लब अफ भैरहवाले सोमबार भैरहवामा घुम्ती रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि रगतको अभाव हुन नदिन भैरहवाका विभिन्न स्थानमा घुम्ती रक्तदान गरिएको क्लबका अध्यक्ष सरिता रानाले बताइन् ।
‘लकडाउनको समयमा रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेका हौं, उनले भनिन् ।’ नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा इकाई सिद्धार्थनगरको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा ४७ युनिट रगत संकलन भएको क्लबका सचिव करिम खानले जानकारी दिए ।
कार्यक्रममा क्लबका सल्लाहकार तथा रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाका सभापति सञ्जिव शर्मा रेग्मी, रोटरी क्लब अफ भैरहवाका द्वितीय उपाध्यक्ष उमेश आचार्य, युथ सर्भिस चेयरपर्सन श्याम क्षेत्री, रेडक्रस सिद्धार्थ उपशाखाका कोषाध्यक्ष रामप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
यस अघि क्लबले ट्राफिक सचेतना कार्यक्रम, निःशुल्क हेपाटाइटिस परीक्षण शिविर लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।