बुटवल —आज देखि बोलाइएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बैठक नै नबसी अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनीहरुको आह्वानमा उक्त प्रस्ताव उपर छलफलका लागि विशेष अधिवेशन बोलाइएको थियो ।
अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उक्त अधिवेशनको औचित्य नभएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले आजै बैठक अन्त्यको आह्वान गर्नुभएको हो ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय र मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा दिउँसो १२ बजे नै विशेष अधिवेशन अन्त्य गरिएको पत्रमा उल्लेख छ । प्रदेश प्रमुखले बैठक अन्त्य भएको जानकारी गराएकाले सूचना टाँस गरेर अधिवेशन अन्त्य भएको जानकारी दिएको सभामुख पूर्णबहादुर घर्तीले बताउनुभयो ।