बुटवल – पर्वतका कोरोना संक्रमित पुरुषको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ । पर्वतको पैयुँ ५ का ३८ वर्षीय पुरुषको हिजो उपचारका क्रममा मृत्यु भएको हो । उनी हालै मात्र भारतबाट घर फर्केका थिए ।
१० दिनदेखि उच्च ज्वरो आए पनि उनको ५ दिन अघिमात्र स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । चैत २९ गते लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका उनको हिजो साँझ ६ः२० बजे मृत्यु भएको हो । उनमा निमोनिया र खोकीको समेत समस्या रहेको थियो ।
उता बाँकेमा कोरोना भाइरसको संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । बाँकेको खजुरा–२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा गयराति १० बजे मृत्यु भएको हो । नेपालगञ्ज स्थित मेडिकल कलेजमा हिजो नै गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै वीरगञ्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
वीरगञ्ज–२ बस्ने ४२ वर्षीया महिलाको मृत्यु भएको हो । आज बिहान ८ः१६ बजे आइसोलेसन वार्डको आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । मोटोपन बढी रहेको उनमा ज्वरो आउने, पखाला चल्ने लगायतका लक्षण देखिएको थियो ।