काठमाण्डौ -स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ ।
कोभिड–१९ सङ्क्रमणको दर बढेसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको समेत बताउनुभएको छ । अहिले देखिएका सङ्क्रमितहरूमा जटिल प्रकृतिको लक्षण देखिएको र सङ्क्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको उहांले बताउनुभयो । गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताउनुभयो ।
त्यसका लागि भिडभाड नगर्ने, दुरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइज गर्ने र लक्षण देखिए तुरुन्त जाँच गराउनुपर्ने बताउनुभयो । यस्तै उहांले भिडभाड हुने सबै व्यवसाय तथा पेसालाई जन स्वास्थ्यका मापदण्ड पालना गराएर मात्रै सञ्चालन गर्न दिनुपर्ने पनि बताउनुभयो ।
छिमेकी देशमा कोभिड सङ्क्रमण बढ्दो क्रममा रहेकाले नेपालले सीमा नाकामा शङ्कास्पद देखिएका बिरामीको एन्टिजेन परीक्षण गर्ने र व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको पनि गौतमले बताउनुभयो ।