काठमाण्डौ – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा विवादास्पद ‘सूचना प्रविधि सम्बन्धी विधेयक’ को प्रतिवेदन पेस हुँदैछ ।
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखे बापत प्रयोगकर्ता लाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधि सम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस हुन लागेको हो ।
यो विधेयक प्रति नेपाली कांग्रेसका सांसदहरुले पहिलेदेखि नै विरोध जनाउँदै आएका छन् । २०७६ पुसमा संसद अन्तरगतको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसले फरक मत राखे पनि सूचना प्रविधि सम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न समिति र आयोगका प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार मधेशी आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन र थारु आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेस हुँदैछ।
यी दुई प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली मार्फत पेस हुने सचिवालयले जनाएको छ ।