दक्षिण एसियाली देशहरुमा कोरोना भाइरसको सङंक्रमण तीव्र गतिमा फैलन थालेको छ । भारत, बङ्गलादेश, पाकिस्तान लगायत देशहरुमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको हो ।
कोरोना सङ्क्रमणको सबैभन्दा धेरै असर भारतमा परेको छ । भारतमा एकैदिन १ लाख १५ हजार भन्दा धेरै कोरोना सङ्क्रमित थपिए सँगै नयाँ रेकर्ड कायम भएको छ । यो सँगै भारतमा सङ्क्रमितको संख्या १ करोड २७ लाख ९९ हजार पुगेको छ । कोरोना सङ्क्रमण सुरु भए यता भारतमा पहिलो पटक एकै दिन एक लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै भारतमा पछिल्लो २४ घण्टामा ६ सय ३१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६६ हजार २ सय नाघेको छ । भारतमा सबैभन्दा धेरै प्रभावित महाराष्ट्र बनेको छ। सङ्क्रमण उच्च दरमा बढेपछि महाराष्ट्रमा साँझमा कर्फ्यु समेत लगाइएको छ। यस्तै दक्षिण यसियाली देशहरु मध्ये बङ्गलादेशमा पनि कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेको छ ।
बङ्गलादेशमा पछिल्लो २४ घण्टामा ७ हजार २ सयभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् भने ६६ जनाको मृत्यु भएको छ । सङ्क्रमण बढ्न थालेपछि बङ्गलादेशमा लकडाउन सुरु भएको छ । यस्तै पाकिस्तानमा पछिल्लो २४ घण्टामा १०३ जनाको मृत्यु भएको छ भने झण्डै ४ हजार संक्रमित थपिएका छन् ।
सङ्क्रमण बढेपछि अप्रिल १० देखि पाकिस्तानमा अन्तर प्रदेश यातायात सेवामा रोक लगाइएको छ। भारत, बङ्गलादेश र पाकिस्तानमा सङ्क्रमणको दोस्रो लहर देखिएको छ भने नेपालमा पनि दोस्रो लहरको डर बढ्न थालेको छ ।
भुटान र अफगानिस्तानमा भने सङ्क्रमण नियन्त्रण उन्मूख रहेको देखिएको छ ।