रुपन्देही । बढी भीडभाड हुने कामबाट समुदायमा हुनसक्ने सम्भावित कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोह्रश्राद्ध (पितृपूजन) वैकल्पिक तरिकाले गर्न/गराउन नगरबासीहरुमा आह्वान गरेको छ ।
तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमण समुदाय स्तरमा तीव्र रुपमा फैलिएको र बढी भीडभाड हुने किसिमको कार्यबाट संभावित संक्रमणको जोखिम झन् बढ्ने सम्भावना रहेको भन्दै अश्विन कृष्ण पक्षमा गरिने सोह्रश्राद्ध (पितृपूजन) कार्यमा आफन्त, छिमेकी, ईष्टमित्र, बन्धुवान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्य मात्रै सामेल हुने व्यवस्था मिलाउन आह्वान गरेको हो ।
एक जना पूरोहित सोह्रश्राद कार्यमा एकै दिन धेरै जनाको घरमा जाने प्रचलन रहेकाले यसबाट कोरोना सर्ने उच्च जोखिम रहेको ठहर गर्दै विद्युतीय भर्चूअल माध्यबाट गर्नुपर्ने बाध्यकारी नियमसहित नगरपालिकाले सूचना नै निकालेको छ ।
महामारीको समयमा पनि परम्परागत संस्कार, संस्कृति, धर्म, पूजा जस्ता कार्यहरु जगेर्ना गर्ने सबैको परम कर्तव्य भएकोले जन्म, न्वारान, व्रतबन्ध, विवाह, मृत्युसंस्कार लगायतका पारिवारिक र सामाजिक जमघट जस्ता क्रियाकलापहरुमा न्युन सहभागी गराउन र सकेसम्म पारिवारिक रुपमा मात्रै गर्न/गराउन नगरपालिकाले भनेको छ ।