काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आंशिक अक्षराङ्कन तर्फ एक लाख ५६ हजार नौ सय ६३ र आंशिक अङ्काङ्कनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा सार्वजनिक भएको हो ।
उक्त परीक्षामा दुईजना परीक्षार्थीको परीक्षा रद्द गरिएको र परीक्षामा तोकिएको भन्दा कम पूर्णाङ्कमा परीक्षा दिलाउने ५ वटा विद्यालयका परीक्षार्थीहरुको सम्पूर्ण विषयको परीक्षाफल रद्द गरिएको बोर्डले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।
कोभिडका कारण विद्यालयले आफ्नै होम सेन्टरमा परीक्षा सञ्चालन गरेका थिए । नतिजा राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट www.neb.gov.np, neb.ntc.net.np वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार थाहा पाउन सकिने छ ।