विराटनगर । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा विराटनगरको संस्थापक मेयर अशोक कोइरालाको निधन भएको छ ।
संविधासभा सदस्य समेत रहेका ७७ वर्षीय कोइरालाको बिहीबार बिहान मृत्यु भएको हो ।
श्वास प्रश्वासमा समस्या देखिएपछि मंगलबार राति न्यूरो अस्पतालमा भर्ना गरिएका कोइरालामा मुटु रोगको समस्या थियो । निमोनिया पनि भएपछि उहालाई न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
कोइराला परिवारका सदस्य अशोक कांग्रेसका पूर्वसभापति एंव पूर्व प्रधानमन्त्री स्वः सुशील कोइरालाका सहोदर भाइ हुनुहुन्छ ।
नेता कोइराला २०४४ सालमा नेपाली कांग्रेस मोरङको सभापति बन्नुभएको थियो । निधनपछि उहाको शव विराटनगर महानगरपालिका–८ स्थित निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ । कोइराला प्रति श्रद्धाञ्जली अर्पण गर्न कांग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक एवं अन्य दलका नेता कार्यकर्ता उहाको निवासमा भेला भएका छन् । कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन् ।