(संक्रमितको दैनिकी ) कावासोती ,नवलपुर। केही समय अघि कावासोतीमा केही संचारकर्मिहरुलाइ कोरोना संक्रमण देखियो ।अहिले उनिहरु रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत छन।उनिहरु आइसोलेसनबाटै सामाजिक संजाल तथा विभिन्न मिडियाहरु मार्फत बिभिन्न सन्देशमुलक गतिविधि गर्दै समाज र कोरोना संक्रमित हरुको मनोबल बढाउने काम गरिरहेका छन।उनै संक्रमित मध्यका एक हुन संचारकर्मी अर्जुन अबिरल ।उनले पनि सामाजिक संजालमार्फत चिकित्सालयमा भैरहेको गतिविधि तथा विभिन्न सन्देशमुलक सामाग्री हरु सम्प्रेषण गरिरहका छन।यसैक्रममा आज उनले प्रकृति सङ्ग जोडेर एउटा मार्मिक अनि सन्देशमुलक स्टाटस सामाजिक संजाल फेसबुकमा लेखेका छन। उनले आफू उपचाररत रहदा आफ्नो घर परिवारलाइ र अन्य कोरोना संक्रमितलाई समाजले गरिरहेको व्यवहार र अहिलेका धनाड्य तथा वौद्दिक जमातको सोचमाथी तीखो प्रहार गरेका छन। अर्जुन अबिरलको फेसबुक स्टाटस :
...... बाहिर मेघ गर्जिरहेकाे छ । दक्षिणबाट उत्तरतर्फ चिसाे पवन वहिरहेकाे छ । पवनसंगै मेघहरू पनि बेताेडले दाैडिरहेकाे छ । लाग्छ कि ती मेघहरू मेरै शहर, मेरै घर अनि मेरै गाउँतिर दाैडिरहेकाे छ । म झ्यालबाट चिहाईरहेकाे छु । पछाडिकाे ढाेका खाेलेर ती पवनसंग म रमाईरहेकाे छु । धानखेतमा ती पवनहरू बहेली खेल्दै मच्ची मच्ची हिडिरहेका छन् । म हेरिरहेछु । घरि घरि ती पवनले बहेली खेलेझै मेराे मन भित्र पनि डरले बहेली खेल्न खाेज्छ म जबरजस्त ती बहेलीलाई राेक्न खाेज्छु । गर्जनसहित आएकाे मेघलाई राेक्दै एउटा सन्देश मेराे गाउँ, मेराे घर अनि मेराे शहरमा पुर्याउन आग्रह गर्छु । मेराे घर, परिवार अनि आफन्तजन सम्पूर्णमा म कुशल रहेकाे सन्देश पठाएँ । ८ बर्षकाे छाेराे र १३ महिनाकी छाेरीलाई बाबा छिट्टै आउनुहुन्छ भन्ने सन्देश लगिदिन आग्रह गरें । मेराे गाउँका छरछिमेक सम्पूर्णमा नआत्तिन, म अनि हामी सबै निकाे भईसकेकाे र छिट्टै गाउँ फर्कने बाचा सहितकाे सन्देश पठाउएँ । सबै सुरक्षित तरिकाले बस्न, आफ्ना काम पनि सुरक्षित तरिकाले घरमै बसेर गर्न, खेतिपाती, मेलापात, गाईभैसीकाे स्याहार गरिसकेपछि र अघि पनि बेसार पानी, महपानी, ताताेपानी, कागतीपानी लिईरहन आग्रह गर्दैकाे सन्देश पनि त्यही मेघ मार्फत् पठाएँ । मेराे शहर जहाँ स्वार्थीहरूकाे जमात् छ । जाे ३/४ तला माथी बस्नु हुन्छ । हामी त्यही मुनि बाटाेमा हिडेकाे भरमा । गल्ली र झ्यालबाट हेरेकाे भरमा अनि तपाईकै घरमुनि बसेकाे भरमा मलाई सर्याे कि भनेर शंका नगर्नु । बरू सक्नुहुन्छ भने मेराे परिवारलाई केही अप्ठ्याराे छ कि बुझिदिनु हाेला । तपाईं पनि सुरक्षित रहनु । बनकाे बाघले नखाँदै मनकाे बाघले खुवाउने काम नगर्नु । बेसार पानी, महपानी, ताताेपानी लिईरहनु । हरेक क्षेत्रमा तपाईहरूकाे ठूलाे पहूँच छ । स्वास्थ्यकर्मीहरूसंग पनि तपाईहरूकाे पहूँच छ । बेला बेलामा चेक गरिरहनु । आहार-विहारमा ख्याल गर्नु । अरू सब ठीक हुन्छ । सबैले यही नियम पालना गर्दै गएपछि पक्कै पनि याे राेगले कसैलाई भेट्न सक्दैन । यही सन्देश मैले मेघलाई पुराईदे भन्दै गर्दा ऊ पीडाले हाे कि कुन्नि बर्षात् गराउँदै गयाे ............. ।