कावासोतीको हसौरामा जारी जिल्लास्तरीय फुटबल प्रतियोगिताको शुक्रवारको खेलमा आयोजक टीम नवज्योति युवा क्लव रातो सेमी फाईनल चरणमा उक्लिएको छ । यसअघि बेलुवालाई हराएर क्वाटर फाईनलमा शुक्रवार प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएको कावासोती ५ को नमुना युवा क्लवको अर्को प्रतिस्पर्धा गर्ने मौका चुकेको हो ।प्रतिस्पर्धामा आयोजक रातोले नमुनालाई ४–१ गेल अन्तरले पछाडी पार्दै सेमी फाईनलमा उक्लिएको हो ।
रातो समुहका खेलाडी मन महतोले २१ र ५६ मिनेटमा २ गोल गरेका थिए भने ७८ औ मिनेटमा राजकुमार महतोले र ईन्जुरी समयको ३ मिनेटभित्रै रवि क्षेत्रीले एक–एक गोल गर्दै आफ्नो टीमलाई जीतको लक्ष्यमा पुर्याए । नमूनाका तर्फबाट ६३ औ मिनेटमा आशिष गोदारीले सान्त्वना गोल बनाए ।
शुक्रवारको खेलमा आयोजक रातो समुहका तर्फबाट २ गोल गरेका खेलाडी मन महतो म्यान अफ द म्याच भए । उनलाई नवलपुर फुटबल संघका अध्यक्ष एवं गण्डकी फुटबल संघका उपाध्यक्ष सेतमान पुनले ट्रफी प्रदान गरे ।
शनिवारको प्रतिस्पर्धा आयोजककै पहेंलो समुह र दलदलेको प्रगति कला मन्दिर युवा क्लवबीच हुने आयोजक नवज्योति युवा क्लवका अध्यक्ष शुशिल सापकोटाले जानकारी दिए ।
खेलको आधिकारिक मिडिया पार्टनर सामर्थ्य एम एम रहेको छ । खेललाई वडा नं. ४ वडा कार्यालयले सहयोग गरेको छ ।