नवलपुरः
रोटरी क्लब अफ कावासोती तथा रोट्रयाक्ट क्लब अफ कावासोतीले नवलपुरको विकट पहाडी गाउँपालिका बुलिङटार ६ का बिद्यार्थी लक्षित सामाजिक क्रियाकलाप गरेको छ ।
रोटरी र राट्रयाकको संयुक्त आयोजनामा विष्णु उदय प्राथमिक विद्यालयमा न्यानो कपडा, शैक्षिक सामाग्री तथा निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
रोटरीको “टीच” कार्यक्रम अन्तर्गतको साठी हजाररुपैंया बराबरको “फण्ड” बाट ४ कक्षासम्म अध्ययन गर्ने ३४ जना विद्यार्थीलाई शैक्षिक–सामग्री, खेलकुद–सामग्री तथा न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिएको जनाईएको छ ।
कार्यक्रममा ती बिद्यार्थीको आँखा परिक्षण समेत भएको हो । निःशुल्क आँखा शिविरको लागि कावासोतीको मध्यबिन्दु आँखा उपचार केन्द्रको प्राविधिक र कावासोतीकै द नेक्ट एजुकेसन कन्सल्टेन्सीले प्रायोजन सहितको सहयोग गरेका थिए ।
बिद्यार्थीलाई प्रदान गरिएका न्यानो कपडा क्लबका कोषाध्यक्ष गोविन्द सिग्देलबाट सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।
रोटरी क्लब अफ कावासोतीका सस्थापक अध्यक्ष भरतशर्मा पोख्रेलले कक्षा कोठा ब्यवस्थापनका लागि भन्दै ५ हजार रुपैया बराबरको कार्पेट, रोटरीयन वीरेन्द्र पराजुलीले शैक्षिक सामग्री अभ्यास पुस्तिका (कपी), रोटरी क्लब अफ कावासोतीका अध्यक्ष भोजराज दाहाल र रोटरीयन हरिहर अधिकारीले २–२ थान गरी ४ थान डेस्क बेन्च सहयोग गरेका रोट्रयाक् क्लव अफ कावासोतीका अध्यक्ष परमानन्द गौतमले जानकारी दिए ।
यसैबीच क्लवले अभिभावक, शिक्षक तथा कावासोतीबाट सहयोग कार्यक्रम लिएर पुगेका सहयोगीबीच ग्रामीण क्षेत्रमा शिक्षामा रहेका समस्या–चुनौती लगायतका बिषयमा चर्चा गर्दै शिक्षा सुधारमा अभिभावक, शिक्षक तथा शिक्षा सरोकारवालाले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल तथा अन्तक्रिया समेत गरेका थिए ।
नवलपुरको विकट विद्यालयमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग