काठमाडौं । मासिक एक सय रुपैयाँमा पढाइ हुने समता स्कुलले पढाइलाई कामसँग जोड्ने व्यवहारिक शिक्षा पनि सुरु गरेको छ ।
राजधानीमा एक कार्यक्रमबीच प्रधानमन्त्रीपत्नी राधिका शाक्य, हास्य कलाकार तथा समता शैक्षिक गुठीका संरक्षक मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडी, गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतो, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे र समता स्कुलका संस्थापक उत्तम सन्जेल उपस्थित थिए ।
कार्यक्रममा सन्जेलले प्रत्येक विद्यार्थीलाई एकजोडी चल्ला वितरण गरेका थिए । उनले सानैदेखि विद्यार्थीलाई काममा लगाइए पछि देशको जनशक्ति पनि बलियो हुने सुनाए ।
प्रधानमन्त्रीपत्नी शाक्यले सय रुपैयाँमा शिक्षालाई काममा जोड्नु चानचुन कुरा नरहेको बताइन् । समता स्कुललाई पहिलादेखि सहयोग गर्दै आएका संरक्षक तथा गैरआवासीय नेपाली संघ संस्थापक अध्यक्ष महतोले विद्यार्थीको शिक्षालाई काममा परिवर्तन गर्ने कुरामा थप सघाउने प्रतिबद्धता जनाए ।
स्कुलका प्रधानध्यापक अजय अधिकारीका अनुसार किताबसँगै विद्यार्थीलाई व्यवहारिक शिक्षामा लगाउन सकिए भविष्यमा बेरोजगार बस्नु नपर्ने बताए ।
उत्कृष्ट पाँच विद्यार्थीहरु सम्मानित भएका छन् । सम्मानित हुनेमा डा. भावना तामाङ, अञ्जली तामाङ, अस्मिता अधिकारी, प्रतिमा भुर्तेल र अञ्जु रिमाल छन् ।
जसमा समता स्कुलबाट पढेकी भावना डाक्टर बनेकी छन् । अञ्जलीले व्यवस्थापन संकायमा स्नातकोत्तर सकाएकी छिन् । अस्मिताले उपेन्द्र महतोको पहलमा आइग्लोनमा पढ्ने अवसर पाएकी छन् । प्रतिमा २०७६ को एसईईमा ४ जीपए ल्याएकी विद्यार्थी हुन् भने अन्जुले स्नातक तहमा कक्षा प्रथम भएकी हुन् । यिनै पाँच प्रतिभालाई आज समताले सम्मान गरेको हो ।