विराटनगर वडा १५ स्थित ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल प्रालिले उत्पादन गरेको स्यानिटाइजरमा मेथानोल मिसाइएको पाइएपछि नष्ट गरिएको छ ।
गत असोज १३ गते औषधि व्यवस्था कार्यालय विराटनगर नेतृत्वको अनुगमन टोलीले औषधि व्यवस्था विभागबाट अनुमति नै नलिई उत्पादन गरेको भन्दै जफत गरेको थियो ।
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मेथानोल पाइएपछि १ सय ९४ वटा कार्टुनमा रहेको करिब २ हजार लिटर स्यानिटाईजर नष्ट गरिएको हो ।
यसैगरी औषधि व्यवस्था कार्यालय नेतृत्वको अनुगमन टोलीले सीता आयुर्वेद सुनसरी र मकालु जडिबुटी उद्योग प्रा लि धरान सुनसरीले उत्पादन गरेको स्यानिटाइजर गुणस्तरहिन पाइएपछि जफत गरेको छ ।
अब उत्पादन गर्न नपाइने र बजारमा पठाइएको स्यानिटाइजर समेत फिर्ता ल्याउने गरी मुद्दा प्रक्रिया अघि बढाइएको औषधि व्यवस्था कार्यालय विराटनगरका निमित्त प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिनुभयो ।
कोरोना महामारीका कारण स्यानिटाईजर प्रयोग गर्ने क्रम बढेकोले स्यानिटाइजर खरिद गर्दा सचेतता अपनाउन सर्वसाधारणहरुलाई औषधि व्यवस्था कार्यालय विराटनगरले आग्रह गरेको छ ।