चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा ९२ प्रतिशत बढेको छ । असोजसम्म कम्पनीले ७ करोड २२ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ७६ लाख रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीले राम्रो ब्याज आर्जन गर्न सफल भएपछि यसको सकरात्मक प्रभाव नाफामा परेको हो । कम्पनीको जीवन बिमा कोष र खुद बिमा शुल्क बढेको छ । यसअवधिमा जीवन बिमा कोष १४७ प्रतिशत बढेर २ अर्ब २५ करोड ९७ लाख रुपैयाँ पुगेको ज्योतिले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
अघिल्लो वर्ष कम्पनीको जीवन बिमा कोष ९१ करोड ४६ लाख रुपैयाँ थियो । ज्योति लाइफको खुद बिमा शुल्क २८ करोड ४२ लाख रुपैयाँबाट बढेर ५२ करोड ५३ लाख रुपैयाँ पुगेको छ । ज्योतिको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २३ पैसा छ ।
ज्योति लाइफको जगेडा कोषमा ४६ करोड ५ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । आईपीओ निष्कासनपछि ज्योतिको चुक्तापुँजी बढेर २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।