गितु गैरे, नवलपुर । हरेक दिन लाटा दाईको आवाजले मेरो निद्रा खुल्थ्यो । लाटा दाई र आवाजले अचम्ममा नपर्नु, उनी अक्षर मिलाएर शब्द बोल्न सक्दैनथे तर 'आ आ आ आ हम हम हम' जस्ता संगीतमय धुन निकाल्न सक्थे । मलाई लाग्थ्यो उनले आफ्नो विरह, दु:ख, आँसु, अभाव अनि कहिलेकाहीँको आनन्द अनुभूति त्यही धुनबाट निकाल्थे त्यसैले होला प्राय हाँसिरहन्थे ।
कहिल्यै घड़ी नहेर्ने लाटा दाई समयको पक्का थिए, त्यसैले पनि मलाई मोबाइलमा घन्टी बजाउनु आवश्यक थिएन । दाईको विशेष बानी भनेको एकछिन नबस्ने, काम केही भएन भने छटपटाउथे । आफ्नो बारीलाई अत्यन्त माया गर्ने लाटा दाईले मलाई सधैं ऊर्जा दिन्थे । काम नभए लगातार चार पाँच पटक बारी जोत्थे तर बेकम्मा बस्दैनथे ।
उनी ठीक म चिया पिउन लाग्दा तिर्खाएर पानी पिउन आउथे, दाजु बैनी बसेर चिया पिउथ्यौँ, गफ गर्दै । एक अर्काले गरेका सांकेतिक भाषा खासै बुझ्दैनथ्यौं । तैपनि लाटा दाईको गफमा भुल्थे । सायद उनीसँग संवाद गरिदिएर होला निकै रमाउथे । उनको खुसी मेरो लागि मेडिटेशन जस्तो लाग्थ्यो । यसै यसै रमाउथे । मेरो डिप्रेसनको औषधीले भन्दा उनको हाँसोले मलाई ठीक गराए जस्तो लाग्थ्यो ।
आज भने लाटा दाई आएनन् । म अबेर सम्म सुतेँ । अल्छी गर्दै उठेर ढिला गए काममा पनि । बिरामी भएको बहाना गरेर कामबाट फर्केर लाटा दाईको घरतिर लागे । उनी सिकिस्त बिरामी पो परेछन् । सधै हाँसिरहने लाटा दाई मलाई देख्ने बित्तिकै रोए । साह्रै नमज्जा लाग्यो ।
ठीक हुन्छौ भनेर ठाडस दिदा झन् भक्कानिदै रोए । उनले मलाई अङ्गालेर रुँदा मैले समेत आँसु रोक्न सकिन । हामी दुवैको आँखाको आँसुलाई लिएर वरपरका मान्छेले आश्चर्यजनक भावले हेरिरहे, हाम्रो सामिप्यतालाई प्रश्नचिह्न तेर्साइरहे ।